शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा वर्षा हुने
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कार्तिक १३ गते (शुक्रबार) र भोलि कार्तिक १४ गते (शनिबार) सम्म देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।
महाशाखाले जारी गरेकाे शुक्रबार जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै, आज र भोलि शनिबार अपराह्न सम्म बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभाव रहने उल्लेख छ ।
शनिबार पराह्नदेखि भने वर्षा क्रमिक रुपमा कम हुदै जाने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
महाशाखाले शुक्रबार र शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेकोले कृषकहरूले धानबाली भित्र्याउने लगायतका कार्य नगर्न भनेकाे छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहन समेत महाशाखाले अनुरोध गरेकाे छ।
सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न हिमाली जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरूले ठाउँ-ठाउँमा माइकिङमार्फत सतर्कता अपनाउन अनुराेध गरिरहेका छन् ।
पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अध्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक एवं पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन् ।
हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ । यसअघि भदाै र असाेज महिनामा अविरल वर्षा, बाढी र पहिराेकाे चपेटामा परेका नेपाली नागरिकले पुनः भारी वर्षाका सामना गर्नुपर्ने भएकाे छ ।

