सांसद पहारीद्वारा सेवा सुविधाका रकम सामजिक कार्यका लागि प्रदान

गण्डकी प्रदेशका सांसद राजीब पहारीले आफूले पाउने सम्पूर्ण सेवा सुविधा बापत्को रकम सामाजिक काममा खर्च गर्नुभएको छ । पहारीले संसद सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको सम्पूर्ण सेवा सुविधा बापत्को रकममा प्रशासनिक खर्च कटाएर सामाजिक कार्यमा खर्च गर्नुभएको हो ।

प्रदेशसभा सदस्यमा तत्कालिन बाम गठवन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं ख बाट प्रत्यक्ष निर्वाचित पहारीले ०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखी मङ्सिर मसान्तसम्म प्रदेशसभा सचिवालयबाट तलवभत्ता बापत प्राप्त रु. चार लाख ५० हजार विभिन्न संघ संस्थालाई सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।

सांसद पहारीले विद्यालय, क्लव, आमा समूह तथा संघसंस्थालाई प्रदान गरेको पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको हो । पहारीले शनिबार सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सृजना सामुदायीक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशिल मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्वन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गर्नुभयो ।

पहारीले सरकारी विद्यालयमा करोडौँको भवन, पर्याप्त फर्निचर लगायतका पूर्वाधार भएपनि सफा पिउने पानीको अभावमा विद्यार्थीहरु बिरामी पर्ने अवस्था देखेकाले सहयोग गरेको बताउनुभयो ।
यसअघि कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाईपको लागि रु. ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई रु. ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई रु. १० हजार, विभिन्न आमा समूहलाई रु. ४० हजार र कास्की खेलाडी संघलाई रु. २३ हजार बराबरको युरोगार्ड सहयोग गरेको पहारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद पहारीले संघ तथा प्रदेश सरकारबाट आफ्नो क्षेत्रमा करोडौका योजनाहरु परेको बताउनुभयो । गण्डकी प्रदेश सरकार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, केन्द्रीय योजना मार्फत खेलकूद, पर्यटन, खानेपानी,पहिरो नियन्त्रण, सडक लगायतका ठूलो रकम विनियोजन भएको भनाई पहारीको छ ।

Facebook Comments