ठोरीको पर्यटन विकासका लागि सहयोग गर्न तयार : मेयर दाहाल
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाले चितवन जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि ठोरी र भरतपुर जोडिनुपर्ने बताउनुभएको छ । ‘प्रथम ठोरी महोत्सव’ को ९ औं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ठोरी र भरतपुरलाई जोडेर पर्यटन विकास गर्न सकिने बताउनुभएको हो ।
भरतपुर महानगरपालिका र ठोरी गाउँपालिकालाई हुलाकी सडकमार्फत जोडेर आन्तरिक तथा बह्य पर्यटकलाई सहज आवगमन गराउन सकिने उहाँको धारणा रहेको छ । ठोरी गाँउपालिका प्राकृतिक रुपमा सुन्दर भएपनि पुर्वधार विकासमा अघि बढन् नसकेको भन्दै मेयर दाहालले पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
भरतपुर र ठोरी ७२ किमिको दुरीमा रहेपनि निकुञ्ज, कच्ची सडकले गर्दा आवत –जावतमा समस्या रहँदै आएको छ । ठोरी–माडी हुलाकी सडक पक्की भएमा ठोरी पुग्न २ घण्टामा पुग्न सकिन्छ ।
कार्यक्रममा बोल्दै ठोरी गाँउपालिकाका अध्यक्ष पिएल श्रेष्ठले ठोरीको प्रमुख समस्याको बारेमा जानकारी गराउनु भएको थियो । नदी कटान, सुलभ यातायात, जंगली वन्यजन्तुको त्रास प्रमुख समस्याको रुपमा रहेको श्रेष्ठको भनाई थियो ।
प्रदेश नम्बर २, मा ठोरीलाई प्रदेश नम्बर ३ मा गाभ्नुपर्ने माग राख्दै ठोरीवासीले लामो समयदेखि अन्दोलन गरिरहेका छन् । राष्ट्रिय गौरवको आयोजना ठोरी केरुङलोक मार्ग, माडी–ठोरी हुलाकी सडकखण्ड निर्माण भए ठोरीको विकासले फड्को मार्ने देखिन्छ । २३ गतेसमम चल्ने महोत्सवको ९ औ दिनसम्म करिब ५५ हजारले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

