क्यान इन्फोटेक र फुड फेस्टिभल फागुनमा हुने


कम्प्युटर एशोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा दसौं संस्करणको ‘क्यान इन्फोटेक–२०१९’ आगामि फागुनमा हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १८ देखि २४ गतेसम्म इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार इन्फोटेकको तयारी सुरु भएको छ भने इन्फोटेकमा कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिइनेछ ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने पौडेलले जानकारी दिनुभयो ।
इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टल रहने सचिव विकास भुर्तेलले जानकारी दिनुभयो । इन्फोटेकले सूचना प्रविधिको विकास एवं प्रवद्र्धनको लागि महत्वपूर्ण योगदान पु¥याउने भुर्तेलको भनाई छ । सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको बारेमा जानकारी गराउन इन्फोटेक सहयोगी हुने क्यानको विश्वास रहेको छ ।
फुड फेस्टिभल पनि फागुनमा
क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराले आयोजना गर्ने फुड फेस्टिवल पनि सोही समयमा प्रदर्शनी केन्द्रमा हुने भएको छ । फुड फेस्टिभल फागुन १७ देखि २५ गतेसम्म सञ्चालन हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।

फुड फेस्टिभलमा खानाका विभिन्न परिकारसँगै मनोरञ्जनात्मक गतिविधि, सांस्कृतिक कार्यक्रम, बाल उद्यान, स्थानीय उत्पादनहरुको बिक्री तथा प्रदर्शनी गरिनेछ ।

Facebook Comments