चितवन महोत्सव : मुलुकलाई समृद्ध बनाउन नसके कम्युनिष्टहरुको काम छैन – प्रचण्ड
नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलकलाई समृद्ध र जनतालाई धनी बनाउन नसके कम्युनिष्टहरुको कुनै काम नहुने बताउनुभएको छ । चितवनमा बुधबारदेखि सुरु भएको १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले दश वर्ष देशको सम्वृद्धिका लागि काम गर्ने इच्छा रहेको बताउनु भएको छ । चितवनमा बुधबारदेखि सुरु भएको १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशको लागि अवको दश बर्ष निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सबैको साथले मात्र मुलुकको समृद्धि सम्भव हुने अध्यक्ष प्रचण्डको भनाई रहेको छ । अध्यक्ष प्रचण्डले भैसालोटनदेखि देवघाटसम्म पानीजहाज पनि चल्ने दावी समेत गर्नुभयो । नारायणी र राप्तीमा तटवन्ध र रिङरोड बन्ने प्रचण्डको भनाई रहेको छ ।
जनतालाई अनुभुत हुने गरि विकास र सम्वृिद्धको काम गर्नु चुनौतिपूर्ण रहेको उल्लेख गर्दै प्रचण्डले चितवनले देशका लागि नै सन्देश दिने र राष्ट्रलाई नै एकतावद्ध गर्न सक्ने मोडलका रुपमा विकास गर्न खोजिएको प्रचण्डले बताउनुभयो ।

देशभरीका विभिन्न भेगका जातजाती र समुदायको बसोबास चितवनमा नै भएकोले अन्य स्थानको तुलनामा चितवनको विकासको गति तीव्र हुने उहाँको धारणा थियो ।
कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताउनुभयो । कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्दे्शिकाको अध्यक्ष दाहालले विमोचन गर्नुभएको थियो ।
महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।

माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जा लगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी आयोजना हुने आयोजकको भनाइ छ । महोत्सवमा व्यावसायिक, कृषि प्रवद्र्धन, सूचना प्रविधि, हस्तकला, शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स, सामाजिक संस्था लगायतका पाँच सय ७० वटा स्टल रहेका छन् ।

महोत्सवलाई थप आकर्षण दिने स्टल मेड इन नेपाल रहेको छ । यस स्टलमा नेपालमा उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ । महोत्सवमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ । कृत्रिम चिडियाखानामा चितवनका गैँडा, बाघ, भालु, हात्ती, चरा लगायत विदेशमा पाइने जनावरको समेत मूर्ति राखिएको छ ।

