विवेकशील साझा पार्टी विभाजित, नयाँ दल दर्ताका लागि थापा निर्वाचन आयोगमा
आन्तरिक कलहमा फसेको विवेकशील साझा पार्टी अन्ततः विभाजित भएको छ । सो पार्टीका उज्वल थापाले नयाँ दल दर्ताका लागि भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुभएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार आयोगमा उज्जल थापा संयोजक रहेको विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दर्ता भएको छ । आयोगले आवश्यक परिक्षण गरेपश्चात निर्णय लिने खरेलले जानकारी दिनुभयो ।
थापाले ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर सहित दल दर्ताका लागि निवेदन दिनुभएको हो । निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन् ।
विवेकशील साझा पार्टीमा केही महिनादेखि विवाद देखिएको थियो । पार्टीका अर्का सह संयोजक रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई विभिन्न पदमा नियुक्ती गरेको भन्दै थापाको समूह असन्तुष्ट रहेको थियो ।
पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा मतभेद चर्किएको थियो । मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै उज्वल थापा समूह अलग हुने जनाइएको छ । केही दिनअघि थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनका विषयमा छलफल नभएपछि असन्तुष्टी चर्र्किएको हो ।
वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रचार गर्दै आएको विवेकशीले पार्टीले गत बर्ष सम्पन्न संघीय तथा प्रदेश निर्वाचनमा निराशाजनक नतिजा हाँसिल गरेको थियो । सो पार्टीले संघीय संसदमा प्रतिनिधित्व हुन सकेन भने प्रदेश तीनको प्रदेश संसदमा भने उक्त पार्टीका तर्फबाट तीनजना सांसद रहेका छन् । पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्य र ३ प्रदेश सांसद मध्ये २ सांसदले थापालाई साथ दिने बुझिएको छ ।
गत बर्षको संघ तथा प्रदेशको निर्वाचनको पूर्वसन्ध्यामा उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो । थापा र मिश्र पार्टीका संयोजक बनेका थिए ।

