कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँसभामा विभिन्न विधेयक प्रस्तुत
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँसभा बिहीबारबाट शुरु भएको छ । गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले गाउँसभा बैठक प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।
त्यसपछि सभाध्यक्ष गुरुङले गाउँपालिकाको गाउँसभा संचालन कार्यविधि २०७४ को दफा ३४ अनुसार गाउँपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कृष्ण कुमारी पौडेल दवाडीलाई न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५ सभामा टेवुल गर्न अनूमति प्रदान गर्नुभएको थियो ।
पूर्वाधार विकास समितिका संयोजक पूर्ण बहादुर शाहीले पूर्वाधार व्यवस्थापन विधेयक २०७५, आर्थिक विकास समितिका संयोजक बिक्रम गुरुङले प्राकृतिक श्रोत संरक्षण तथा व्यवस्थापन विधेयक २०७५, विपत व्यवस्थापन समितिका संयोजक हरिश्चन्द्र ढुंगानाले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५, तथा सामाजिक विकास समितिका सहसंयोजक कृष्ण प्रसाद दवाडीले शिक्षा विधेयक २०७५ र स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन (पहिलो शंसोधन) विधेयक २०७५सभामा टेवल गराउनुभएको थियो ।
विधेयकहरु माथि दफावार छलफल हुने, विधेयक प्रस्तुतकर्ता सदस्यले सभामा उठेका प्रश्नहरुको जवाफ दिने र उक्त विधेयकहरु पारित गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेश हुने अर्को बैठकको कार्यसूची रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ आचार्यले जानकारी दिनुभयो । सभाको अर्को बैठक आगामी पौष ३० गते सोमबार बस्नेछ ।

