नेविसङ्घ विवादः उपाध्यक्षसहित सातजना पदाधिकारीको राजीनामा
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसङ्घ)का सातजना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीनजना सहमहामन्त्रीहरूले काँग्रेस सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिनुभएको हो । राजीनामा बुझाउन नेविसङ्घ पदाधिकारीहरू सबै देउवा निकटकै मानिन्छन् ।
७ पदाधिकारीको राजीनामाले नेविसङ्घ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा पर्नुभएको छ ।नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समयावधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।

