सरकार परिवर्तनको खेल भइरहेको छः नेकपा नेता सन्तोष बुढा मगर

नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढामगरले नेकपाभित्र किचलो बढाएर सरकार परिवर्तनको प्रयास भइरहेको बताउनुभएको छ । साम्राज्यवादीहरुले नेकपाभित्र किचलो बढाएर कि प्रचण्डको नेतृत्वमा सरकार बनाउने त्यो सम्भव नभए कांग्रेस र तत्कालीन माओवादी केन्द्रलाई मिलाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने विकल्प अघि सारेको उहाँको दावी रहेको थियो ।

आइतबार पार्टीको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा शुभाराम्भ कार्यक्रममा उहाँले यस्तो दावी गर्नुभएको हो । नेपालमा संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेको उहाँको जिकीर रहेको छ ।

पार्टीको केन्द्रीय जनसरकार प्रमुख समेत रहनुभएका नेता बुढा मगरले राजतन्त्र पुर्नस्थापनाका लागि समते षडयन्त्र भइरहेको बताउनुभयो । आफ्नो पार्टीलाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुर्नस्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको उहाँको जिकीर रहको छ ।

बैकल्पिक सत्ता संचालन गरेको ने.क.पा.लाई ध्वस्त पार्न र कम्युनिष्टको नाममा सत्तासीन बनेको सत्तारुढ नेकपालाई बदनाम गराउन साम्राज्यवादीहरुले विभिन्न षड्यन्त्रहरु रचिरहेको नेता थापामगरको भनाई थियो । संसदीय व्यवस्था समाप्त भएपछि बैज्ञानिक समाजवादी व्यवस्था आउने भन्दै उहाँले संसदीय व्यवस्थाको बिकल्प राजतन्त्र वा पंचायती ब्यबस्था हुने नसक्ने जिकिर गर्नुभयो ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतसंग पार्टी एकता बारे चर्चा छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा एकजुट भै लड्न तथा दलाल संसदीय व्यवस्था नढलेसम्म दिगो रुपमा संघर्षलाई अघि बढाउने नेता थापामगरको भनाई थियो ।

सोही अवसरमा पार्टीका केन्द्रीय सदस्यत्रय कर्णाली ब्युरो इन्चार्ज एटम, भेरी ब्युरो इन्चार्ज शितल र धवलागिरी ब्युरो इन्चार्ज विप्लव लगायतका नेताहरुले पार्टीले संचालन गरेको अभियानका क्रममा गण्डक ब्युरोमा पार्टीको बैचारिक तथा सांगठानिक अवस्थालाई सुदृढ र बलियो पारी छाड्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

ने.क.पा गण्डक ब्युरो सदस्य एबम कास्की जिल्ला इन्चार्ज रुपेश्को अध्यक्षतामा भएको सो कार्यक्रम पार्टी तनहुँ जिल्ला इन्चार्ज उभारले संचालन गर्नुभएको थियो ।

Facebook Comments