सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगितामा ३४ टिम दर्ता

पोखरामा हुने सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगितामा कुल ३४ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘प्रथम सृजना कप छात्र-छात्रा भलिवल प्रतियोगिता’मा छात्रतर्फ २४ र छात्रातर्फ ९ टिमले प्रतिष्पर्धाका लागि नाम दर्ता गरेका हुन् ।

आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीका अनुसार आइतबारसम्म ३४ टिमले नाम दर्ता गराएका हुन् । दश जोड दुई सम्मका विद्यार्थीले खेल्न पाउने प्रतियोगिताको अन्तिम दर्ता मिति आइतबारसम्म रहेको थियो । प्रतियोगिताको टाइसिट सोमबार निकालिने संघका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

माघ ९ गतेदेखी माघ १२ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । यसअघि माघ ८ गतेदेखी नै शुरु हुने भनिएपनि प्राविधिक कारणले माघ ९ गतेदेखी मात्रै प्रतियोगिता गरिने अध्यक्ष पराजुलीको भनाई छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने छ । प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

Facebook Comments