मनकामना केबलकार पोखरा कपमा विदेशी सहित १२ टिम सहभागी हुने

छैटौ मनकामना केबुलकार पोखराको कपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगितामा १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोली सहभागी हुने भएको छ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।

यसअघि पोखरामा तेस्रो आहा रारा गोल्डकपमा सहभागी भएको अफ्रिकन युनाईटेडले उपाधि नै उचालेको थियो । यसपटक क्यामरुनी टोली डाफिनास टिम प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा शहीद स्मारक लिगमा सहभागि भएका ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ टोलीले उपाधि होडका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

मनकामना केवलकार पोखरा कप २०७५ का संयोजक हरि खड्काका अनुसार प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजको सहभागिता रहनेछ ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई पाँचौ सस्करणको भन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ । उत्कृष्ट पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

१२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च र १ करोड २८ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । संघले फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मान स्वरुप मोटरसाईकल प्रदान गर्ने निर्णय समेत गरेको छ । संघका अनुसार मैदान वरिपरी बार्ने कामका साथै अस्थायी प्यारापिट निर्माण र मैदान मर्मत सम्भारको काम भइरहेको छ ।

Facebook Comments