चिकित्सकहरुले अनसनरत डा.केसीको समर्थनमा आन्दोलन गर्ने

नेपाल चिकित्सक संघले अनसनरत डा.गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । केसीसँगको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने संघको माग रहेको छ ।

विगतमा सरकारले गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नआएको भन्दै १६ औं पटक आमरण अनसनमा रहनुभएका डा. केसीका माग पूरा गराउन संघले दबाब दिदैं आएको छ । चिकित्सक संघको अगुवाईमा सोमबारबाट बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चिकित्सकहरु सामूहिक रूपमा त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने भएका छन् ।

डा.केसीको अनसनलाई सरकारले बेवास्ता गरेको चिकित्सक संघको आरोप छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सम्झौता कार्यान्वयन गर्नबाट सरकार पछाडि हट्दा सरकार र प्रधानमन्त्रीको पदको गरिमामा आँच आएको उल्लेख गर्नुभयो । डा.केसीका माग आम नागरिकका पक्षमा रहेकाले तानाशाही प्रवृत्ति नदेखाउन सरकारलाई संघले चेतावनी दिएको छ ।

Facebook Comments