युएईलाई हराउँदै नेपालले जित्यो एक दिवसीय क्रिक्रेट सिरिजको उपाधि
नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय क्रिक्रेट खेल ४ विकेटले जितेको छ । यससँगै नेपालले तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपालले गएको बर्ष चैतमा १ दिवसीय म्याच खेल्ने देशका रुपमा मान्यता पाएको थियो ।
यसअघि नेपाल र नेदरल्यान्ड्सवीच भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो । दोस्रो सिरिजमा भने नेपालले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको हो । एकदिवसीय खेलमा नेपाली क्रिक्रेट टिमका कप्तान पारस खड्काले एकदिवसीय शतक हान्ने पहिलो नेपाली खेलाडीको रेकर्ड बनाए भने प्लेयर अफ द सिरिज पनि बने ।

खड्काले उत्कृष्ट प्रदर्शन गर्दै छैटौं विकेटको रुपमा आउट हुनुपूर्व १०९ बलमा १५ चौका र एक छक्का प्रहार गर्दै ११५ रन बनाए । तेस्रो खेलमा आईसीसी क्रिकेट एकेडेमीमा यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धा्रित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।


