शुल्क बढी लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित
तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । विहीबार कलेज प्रशासनमा तालवाबन्दी गरेका विद्यार्थीले शुक्रबार र्याली सहित विरोध जनाएका छन् ।
विद्यार्थीहरुले बढी लिइएको शुल्क फिर्ता, नयाँ विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क लिन नपाइने, कलेजले आवश्यक पूर्वाधार र मापदण्ड पुरा नगरेकाले सेवा सुविधा र मापदण्ड तोके बमोजिम व्यवस्था गर्नुपर्ने माग गरेका छन् । कलेजले ब्याच अनुसार ७ लाख ५० हजार देखि १५ लाखसम्म तोकिएभन्दा बढी शुल्क लिएको विद्यार्थीहरुको गुनासो रहेको छ ।

एक विद्यार्थीले नाम नबताउने शर्तमा बताए अनुसार कलेजले शुरुको किस्ता वापत् १५ देखि २५ लाखसम्म लिने र सो को आधिकारीक विल भरपाई नदिने गरेको छ । गण्डकी मेडिकल कलेज प्रशासनले भने तोकिएभन्दा बढी शुल्क नलिएको दावी गरेको छ । कलेजमा एमबिबिएस, नर्सिङ, फार्मेसी, बिएमएलटी, बि एम आइटी लगायतका विषयमा पढाई हुने गरेको छ ।
मेडिकल शिक्षामा विद्यार्थी र अभिभावकलाई मारमा पार्ने काम भइरहेको छ, अति भएपछि तालाबन्दी र र्याली प्रदर्शन सहितका कार्यक्रम गर्नुपरेको ति विद्यार्थीको भनाई रहेको छ । सरकारले ३७ लाख ५० हजार देखि ४२ लाखसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । यसअघि अवैधानिक रुपमा ८० लाखसम्म एक विद्यार्थीबाट मेडिकल कलेजले रकम असल्दै आएका थिए ।

