मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन अमेरिकामा संकटकाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा पर्खाल लगाउने उद्देश्यका साथ राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गर्नुभएको छ । सीमानामा पर्खाल लगाउन संसदबाट बजेट उपलब्ध नभएकाले ट्रम्पले राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गर्नुभएको हो ।

बिहीबार संसदका दुबै सदनबाट पारित भएको सरकारी खर्च विधेयकमा पर्खालका लागि १.३७५ अर्ब डलर विनियोजन गरिएको छ । संसदले कंक्रिट पर्खालको सट्टा फलामे अवरोध लगाउन पुग्ने बजेट रहको विधेयकमा उल्लेख छ ।

ह्वाइट हाउस श्रोतका अनुसार संसदले छुट्याएको बजेटसहित कुल आठ अर्ब डलर पर्खालमा खर्चिने लक्ष्यका साथ संकटकाल घोषणा गरिएको हो । बाँकी ६० करोड डलर ट्रेजरी डिपार्टमेन्ट (अर्थ मन्त्रालय) ड्रग फरफ्युचर फण्डबाट, साढे दुई अर्ब डलर पेन्टागन (रक्षा मन्त्रालय) को ड्रग इन्टरडिक्सन प्रोग्राम र साढे तीन अर्ब डलर पेन्टागनकै मिलिटरी कन्सट्रक्सन बजेटबाट जुटाउने तयारी छ ।

ट्रम्पले संसदसँग पर्खालका लागि ५.७ अर्ब डलर माग गरेपनि सो विषयमा सहमति हुन नसक्दा लामो समयसम्म सरकारी कार्यालय बन्द भएका थिए । संसद र ट्रम्पवीच सहमति नजुट्दा डिसेम्बर अन्तिम सातादेखि जनवरी तेस्रो सातासम्म ३५ दिन अमेरिकी सरकार सटडाउन भएको थियो ।

संसदमा रहेका डेमोक्र्याटसँग सहमति खोज्न भन्दै तीन साताका लागि अल्पकालीन बजेट व्यवस्था गरी सरकार खुलाइए पनि सहमति हुन सकेको थिएन । संसदका दुबै सदनले पर्खालका लागि ट्रम्पको मागभन्दा न्यून रकम विनियोजन गरिएको बजेट विधेयक पारित गरेपछि ट्रम्पले विधेयकमा हस्ताक्षर नगर्ने अड्कलबाजी समेत गरिएको थियो ।

राष्ट्रिय सुरक्षा संकटकाल घोषणाप्रति डेमोक्र्याटहरूले भने तीव्र विरोध जनाएका छन् । यो घोषणा असंवैधानिक रहेको भन्दै ट्रम्पलाई अदालतमा चुनौती दिने विपक्षीको तयारी रहेको छ । ट्रम्पले २०१६ को राष्ट्रपति निर्वाचनमा सीमाना पर्खाल लगाउने र त्यसको पैसा मेक्सिकोले पनि तिर्नुपर्ने भन्दै चुनावी नारा बनाउनुभएको थियो ।

Facebook Comments