युवा विदेश पलायन रोक्नुपर्छ : नेकपा अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा जनशक्ति विदेश पलायन हुने स्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । साथै उहाँले युवाको पलायन रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली युवाहरूले आफ्नै देशमा कृषिजन्य उत्पादन बढाउनुपर्ने बताउनुभयो । सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने अध्यक्ष प्रचण्डको धारणा थियो । सामूहिक खेती प्रणालीमा जानुपर्नेमा जोड दिँदै उहाँले सहकारी तथा निजीस्तरबाट पनि कृषिजन्य वस्तु उत्पादन गर्न सके रोजगारीका अवसर पनि सिर्जना गर्न सकिने टिप्पणी गर्नुभयो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को देख्दा कहिलेकाहीँ दिक्क लाग्ने गरेको सुनाउँदै अध्यक्ष प्रचण्डले यस्तो बेला आफैँ खेती गर्न हिँडौँ जस्तो लाग्ने गरेको उल्लेख गर्नुभयो । कृषिमा आधुनिकीकरण गरिए मात्रै मुलुक समृद्ध बन्ने उहाँको भनाइ छ । उत्पादन बढाउने नाममा रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा नकारात्मक प्रभाव पारिएको उल्लेख गर्दै प्रचण्डले अर्गानिक खेती गर्न किसानहरूलाई आग्रह गर्नुभयो ।

