पर्यटनबाटै गण्डकी प्रदेशको विकास र समृद्धिः पर्यटनमन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जनअपेक्षा अनुसारका काम गर्ने बताउनुभएको छ । ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लम्सालले सरकार जनताप्रति उत्तरदायी रहेको बताउनुभयो ।
गण्डकी प्रदेशमा पर्यटनबाटै विकास र समृद्धी हासिल गर्न सकिने मन्त्री लम्सालको भनाई थियो । पोखराको बजारमा मात्रै रहेको पर्यटनलाई हिमालदेखि तराईसम्म, ढोरपाटनदेखि मनकामना सम्म विकेन्द्रित गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री लम्सालले पर्यटन व्यवसायमा पुर्वाधार राम्रो नरहेको स्वीकार गर्दै उहाँले सरकारले त्यसको तयारीमा लागेको बताउनुभयो । पोखरालाई पर्यटकीय राजधानी बनाउन सकेमात्र स्वर्गीय रविन्द्र अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयो ।
पोखरालाई पर्यटकीय राजधानी बनाउने, पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने र आन्तरिक भ्रमण वर्ष सफल बनाएमा पर्यटन क्षेत्रको विकास हुने उहाँको भनाई थियो । स्थानीय तहसँग सहकार्य गरेर संभावित पर्यटकीय गन्तव्यलाई पहिचान गर्ने मन्त्री लम्सालकाे भनाई थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मेला महोत्सवलाई ट्रेड फेयरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष अधिकारीले पोखरा प्रदर्शनी केन्द्रमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउन नहुने उल्लेख गर्नुभयो । सुरक्षा, बजारको वीच भागमा रहेकाले पनि सम्मेलन केन्द्र भन्दा पोखरा प्रदर्शनी केन्द्रलाई स्थायी खालको प्रदेश स्तरिय प्रदर्शनी केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

