‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ जारी
पोखरामा प्रदेश स्तरीय ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ पोखरा प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान)को आयोजनामा सातौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ जारी रहेको हो ।
महोत्सवमा १ सय ३० वटा स्टल रहेका छन् । सिटी रेवानका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाका अनुसार १० वटा खाना तथा खाजा सहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टलहरु राखिएको छ ।
यसपटक कम्प्युटर एशोसिएसन महासंघ (क्यान) कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधिमेला समेत सँगै आयोजना भएकाले सबै प्रकारका दर्शकका लागि महोत्सव उपयुक्त भइरहेको आयोजकको भनाई छ ।
महोत्सवमा पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक प्रस्तुति रहेको सिटी रेबानका महासचिव जीवन दाहालले जानकारी दिनुभयो । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षणका रुपमा रहेको सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । प्रतियोतिामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

