धार्मिक पर्यटनबाट मुलुकको विकासमा सहयोग पुगेको छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले विन्ध्यबासिनी मन्दिर परिसरमा निर्मित लिफ्टले मन्दिर दर्शनका लागि फरक शारीरिक क्षमता भएका र ज्येष्ठ नागरिकहरुलाई सहयोग पुग्ने बताउनुभएको छ । विन्ध्यबासिनी धार्मिक पर्यटनको विकासका लागि विन्ध्यवासिनी मन्दिरको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई थियो ।
धर्मको अर्थ सेवा हो भन्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक र फरक सामाजिक क्षमता भएकाहरुलाई सेवा गर्ने कार्यमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सकारात्मक काम गरिरहेकामा आभार प्रकट गर्नुभयो ।

समितिकै अगुवाइमा गुरूकुल सभा भवन निर्माण, योग शिविर सञ्चालन, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले व्यवसायिक समूह लक्ष्मी ग्रुप र हुण्डाई मोटरको सहकार्यमा विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गरेको हो ।
राष्ट्रपति भण्डारीले विहीबार नै गोरखा जिल्लाको मनकामना मन्दिरको पनि अवलोकनका साथै पुजा आराधना गर्नुभएको छ । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुन निर्माण कार्य करिव १४ कराेडको लागतमा सम्पन्न भएको छ । मन्दिरमा २०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको थियो । पुनर्निर्माण सम्पन्न भएपछि मनकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।

