सम्झौता अनुरुप चिकित्सा शिक्षा ऐन संशोधन गर्न डा.गोविन्द केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसित १५औं अनशनका बेला गरेको सम्झौता अनुरुप चिकित्सा शिक्षा ऐन संशोधन गर्न माग गर्नुभएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी डा. केसीले ऐन जस्ताको तस्तै लागू गरिए त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गलाउन नसक्ने भन्दै डा. केसीले सम्झौता अनुरुप ऐन संशोधन नगरे कुनैपनि बेला अनशन बस्ने चेतावनी दिनुभएको हो ।
माओवादी द्वन्द्वकालका घटनामा अन्तर्राष्ट्रिय कानुनअनुरुप कारबाही गराउनपनि आफू लड्ने भन्दै उहाँले प्रधानमन्त्री ओलीलाई ‘बादशाह हुँ’ भन्ने नठान्न चेतावनी समेत दिनुभयो । गण्डकी मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्नुपर्ने भन्दै डा. केसीले विद्यार्थीबाट लिइएको बढी रकम तत्काल फिर्ता गराउनपनि माग गर्नुभएको छ ।

