गण्डकी प्रदेशमा ३६ वातावरणमैत्री नमुना कृषि गाउँ बन्दै
विश्वराज सुवेदी
गण्डकी प्रदेशमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम शुरु गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले होमस्टे अर्थात् घरबासमा स्थानीय उत्पादनको प्रयोग हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको तनहुँको भिमाद नगरपालिका वडा नं.९ पाथर्दीमा शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्रीले होमस्टेमा बाहिरबाट आयातित बस्तु ल्याएर बेच्न उपयुक्त नहुने बताउनुभयो । कृषि र पर्यटनबाट नै गण्डकी प्रदेशको समृद्धि सम्भव हुने भन्दै उहाँले युवालाई विदेश पलायन हुनबाट रोकी उत्पादनमूलक क्षेत्रमा संलग्न गराउनुपर्ने बताउनुभयो ।
स्थानीय कृषि तथा पशुजन्य उत्पादनको उपयोगले मात्र उक्त स्थानको विकास र समृद्धिमा सहयोग पुग्ने उहाँको भनाई थियो । होमस्टे भन्ने वित्तिकै स्थानीयले आफ्ना ठाउँमा उपलब्ध उत्पादन, आफ्ना संस्कार अनुसार पाहुनालाई सेवा दिने कार्य हो भन्दै मुख्यमन्त्री गुरुङले बाहिरबाट सामान ल्याएर होमस्टे चलाउने सपना नदेख्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्ती हरिबहादुर चुमान, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता कृष्णचन्द्र नेपाली लगायतले सम्बोधन गर्दै नमुना कृषि गाउँ निर्माण कार्यमा सहकार्यका साथ अगाडि बढ्न आग्रह गरेका थिए ।
गण्डकी प्रदेश सरकारले ३६ वटा निर्वाचन क्षेत्रमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ बनाउने तयारीका साथ काम गरिरहेको छ । जस अनुसार कास्कीमा ६, तनहुँ,, बाग्लुङ, स्याङ्जा, गोरखा र नवलपुरमा ४/४ वटा, लमजुङ, मनाङ मुस्ताङ, पर्वतमा र म्याग्दीमा २/२ वटा नमुना कृषि गाउँ बन्नेछन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३६ वटा गाउँलाई नमुना कृषि गाउँका रुपमा विकास गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा ३६ वटा नमुना गाउँ निर्माण गरेपछि त्यसलाई विस्तार गर्ने योजना मन्त्रालयको रहेको छ । कार्यक्रममा विपन्न कृषकलाइ बाेयर जातकाे बाेका प्रदान गरिएकाे हाे ।


