वीर अस्पतालमा प्रहरीको सहयोगमा टिकट काउण्टर खोलेपछि सरकारी चिकित्सकको आक्रोशित
नेपाल चिकित्सक संघले सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । यसबारेमा छलफल गर्न र थप रणनिति बनाउन भन्दै चिकित्सकहरुको आकस्मिक भेला बोलाइएको छ । वीर अस्पतालमा प्रशासनले सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाउन प्रहरीको सहयोग लिएपछि आन्दोलनरत चिकित्सक झन आक्रोशित बनेका हुन् ।
नेपाल चिकित्सक संघले सो विषयका साथै आन्दोलनका भावी रणनीति तय गर्न भन्दै भोली विहीबार भेला बोलाएको छ । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे भेला हुन बोलाइएको चिकित्सक संघका महासचिव डा.लोकत कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चिकित्सकमाथि भएको धरपकडको निन्दा गर्दै संघले समायोजनसम्बन्धि समस्याको समाधान वार्ताबाटै खोज्न पनि सरकारलाई आग्रह गरेको छ । सम्वादलाई लत्याएर चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अभिव्यक्ति दिइएको, प्रहरी लगाएर धरपकड गर्दै चिकित्सकहरुलाई चिढ्याएको चिकित्सक संघको भनाइ छ । सरकारले चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेपछि सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण केही दिनयता सरकारी अस्पतालमा पुग्ने विरामीले भने सेवा पाएका छैनन् ।

