सरकारी चिकित्सक आन्दोलनका भावी रणनीति तय गर्दै

नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकलाई प्रहरीले धरपकड गरेको विषयमा छलफल गर्ने भएको छ । संघले भावी रणनीति तय गर्न आज छलफल गर्न लागेको हो । सरकारले आफूहरूको मागको सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि आन्दोलनरत चिकित्सकहरु आक्रोशित भएका छन् ।

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले आन्दोलनका विषयमा छलफल गरी आगामी रणनीति बनाउन गर्न भेला बोलाइएको जानकारी दिनुभयो । वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा प्रहरी लगाएर चिकित्सकमाथि धरपकड गरेकोमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत् जनाएको छ ।

सरकारको पछिल्लो कदमको बारेमा छलफल गर्न आज दिउँसो २ बजेका लागि उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्यसंस्थाका प्रतिनिधिहरुलाई संघले बोलाएको छ । सरकारले हालै गरेको चिकित्सक समायोजनप्रति असन्तुष्टि जनाउँदै इमर्जेन्सीबाहेक सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पारेर धर्नामा बसेका चिकित्सकमाथि प्रहरीले हिजो धरपकड गरी वीर अस्पतालको अवरुद्ध सेवा सुरु गर्न खोजेको थियो ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले प्रहरीले आफूहरुमाथि अमर्यादित शब्द प्रयोग गर्दै जबरजस्ती टिकट काउन्टर खुलाएको आरोप लगाउनुभयो । प्रहरी हस्तक्षेप मार्फत सेवा सुचारु गर्न खोजे पनि चिकित्सकहरु अस्पतालभित्र गएर विरामी चेकजाँच गरेका छैनन् । अत्यावश्यक सेवामा हडतालमा उत्रिएका सरकारी चिकित्सकको नाम पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न सरकारी अस्पताललाई पत्र काटेको छ ।

Facebook Comments