बङ्लादेशमा आम निर्वाचन हुँदै, निष्पक्ष हुनेमा विपक्षीको आशंका

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् ।

मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएको छ । प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अनुमान गरिएको छ । आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ ।

सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ । निर्वाचन आयोगका अधिकारी राफिक्वाल इस्लामले उच्च सुरक्षा व्यवस्थापन गरिएको जानकारी दिनुभयो । निर्वाचनका लागि शान्तिपूर्ण वातावरण हुने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो ।

यस पटकको निर्वाचन प्रचार प्रसारका दौरानमा १३ जनाको मृत्यु हुनुका साथै हजारौं घाइते भएका छन् । मुसलिम समुदायको बाहुल्यता रहेको यस देशमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आउनु भएको छ भने विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् । विपक्षी पार्टीले राज्य आतंक मच्चाएको र आफ्ना पार्टीका हजारौं नेता कार्यकर्तालाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाउनुभएको छ । विपक्षी दलकी प्रमुख नेतृ खालिदा जिया हाल ढाकास्थित जेलमा रहनुभएको छ । यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय हुनुहुन्छ । यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनुहुनेछ ।

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा हुनुहुन्छ । बङ्गलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनुभएको छैन । उहाँको दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले उक्त आरोप राजनीतिक प्रेरित रहेको भन्दै आलोचना गरिरहेको छ । चर्को विवाद, तनाब र हिंसाका बीच बङ्गलादेशमा गत बिहीबार रातीदेखि अहिले मौन अवधि चलिरहेको छ ।

Facebook Comments