संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायधीशमा चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन गरेको छ । सनुवाई समितिले जबराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेसँगै उहाँलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ ।
संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्याधीश नियुक्त गर्ने प्रावधान रहेको छ । चोलेन्द्र शमसेर जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहनुहुनेछ ।
यसअघि मंगलबार संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध प्राप्त उजुरीबारे छलफल गरेको थियो । छलफलको क्रममा जबराले आफूले नियमविपरित कुनै काम नगरेको स्पष्टीकरण दिनुभएको थियो ।
जबराले आफू प्रधानन्यायाधीश बनेमा आफ्नो अनुहार कुरुप हुने कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संसदीय सुनुवाई विशेष समितिमा जबरा विरुद्ध ९ वटा उजुरीहरु परेका थिए ।

