शिक्षाको विकासले मात्रै देश विकास सम्भव : मन्त्री बस्नेत
पोखरा १३ ढाडबेसीको आर्वा विजय माध्यमिक विद्यालयले ३५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षाको विकासले मात्रै देशको विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।
विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि जोड पुग्ने गरी अघि बढाउनुपर्ने मन्त्री बस्नेतको भनाई थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विद्यालयहरु स्थानीय तह मातहतमा रहेको जनाउँदै आवश्यक योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।
जिविसका पूर्व उपसभापति श्रीनाथ बरालले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले त्यस विषयका लागि अघि बढ्न सुझाव दिनुभयो । पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले विद्यालयहरुमा सूचना र प्रविधिमैत्री शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शिवराज पौडेल विद्यालयको प्रगति प्रतिवेदन र शिक्षक चन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अमरसिंह स्रोत केन्द्रका स्रोत व्यक्ति शिवप्रसाद सापकोटा, अमर ज्योति आधारभूत विद्यालयका प्रअ विमलप्रसाद बराल, चन्डिका आधारभूत विद्यालयका प्रअ जमानसिंह गुरुङ, कोपिला बराल, हरिप्रसाद बराल, हिमलाल बराल लगायतले बोलेका थिए ।
विद्यालयको शिक्षकको तर्फबाट झलक पौडेल र विद्यार्थीबाट दीपक पौडेलले विद्यालय र शिक्षाबारे बोलेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण विकले गर्नुभएको थियो ।

