पोखरामा ग्रामीण पर्यटन महोत्सव हुने
पोखरामा फागुनमा ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)गण्डकी प्रदेशको आयोजनामा आगामि फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन महोत्सव हुने भएको हो । महोत्सव फेवाताल किनार वाराही खेलमैदानमा गर्ने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष रविन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा हुने महोत्सव ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य सहित गर्न लागिएको हो । महोत्सवमा गण्डकी प्रदेशका ५० भन्दा बढी घरबास पर्यटन अर्थात् होमस्टेहरुका स्टल रहने जनाइएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा रहेका होमस्टेहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवमा १० वटा खानाका परिकारका स्टलहरु रहने पनि पौडेलले जानकारी दिनुभयो ।
महोत्सवमा ग्रामीण पर्यटनसँग सम्बन्धित विभिन्न प्रवद्र्धनात्मक जानकारी दिने ब्रोसर, पर्चा वितरणको व्यवस्था मिलाइनेछ । पत्रकार सम्मेलनमा उपस्थित नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले ग्रामीण पर्यटनलाई एक अर्कोसँग जोड्ने, ग्रामीण पर्यटनका गन्तव्यहरुको प्रवद्र्धनमा महोत्सजवले भूमिका खेल्ने बताउनुभयो ।
बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले ग्रामीण पर्यटन गण्डकी प्रदेशको निर्विकल्प गन्तव्य भएको उल्लेख गनुृभयो । गण्डकी प्रदेशमा पछिल्ला ३ वर्षमा २५ वटा बढेर २ सय २३ वटा होमस्टे स्थापना भएको भन्दै थपलियाले होमस्टेको संख्यासँग गुणात्मकतामा पनि वृद्धि भएको बताउनुभयो ।
महोत्सवमा राखिएका होमस्टे मध्ये उत्कृष्ट होमस्टे स्टल, कल्चर र खानाका परिकारलाई नगदसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । महोत्सवमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजारसहित पुरस्कृत गरिने छ । सो अवसरमा ग्रामीण पर्यटन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई समेत नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने मञ्चका निवर्तमान अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।

