संसदीय मुल्य मान्यता विपरीत विधेयक पारित गरियो : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मुल्य मान्यता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ । वार्ता र संवादको प्रयास नै नगरी संसदमा मार्सल लगाएर होहल्लाकै वीचमा विधेयक पारित गरिएको देउवाको आरोप रहेको छ ।
पोखरामा प्रजातन्त्रका सेनानी नेपाली काग्रेस कास्की अग्रज स्वर्गीय नेता केशबराज रेग्मीको पुन्य स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै देउवाले यसअघि आफ्नो नेतृत्वको सरकारले डा.गोविन्द केसीसँगको सहमति अनुसार विधेयक ल्याएको भएपनि त्यसलाई वर्तमान सरकारले तोडमोड गरेको आरोप लगाउनुभयो । लोकतान्त्रिक मुल्य मान्यताको खिलाफमा जान नसक्ने भन्दै सदनमा आफ्ना कुरा निरन्तर राख्ने उहाँको भनाई रहेको छ ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पतालहरु केन्द्र सरकार मातहत राख्ने निर्णय गरेर सरकारले कमजोरी सच्याएको देउवाको भनाई थियो । उहाँले सरकारका अप्रजातान्त्रिक क्रियाकलापलाई रोक्ने र लोकतान्त्रिक मुल्य मान्यतालाई स्थापित गरेरै छाड्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले काग्रेस कमजोर हुनुको दोष नेतृत्वले लिनुपर्नेमा जोड दिएका थिए । कास्की काग्रेसका सभापति कृष्ण केसीको सभापत्विमा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, काग्रेस नेता शुक्रराज शर्मा, नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपीला रानाभाट लगायतले सम्बोधन गनुृभएको थियो । कार्यक्रममा स्वर्गीय नेता केशबराज रेग्मीको जिवनी बारे रामप्रसाद आचार्यले प्रकाश पार्नुभएको थियो ।

