डा.केसीद्वारा आमरण अनसन अन्त्य, चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता

विगत २४ दिनदेखि अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसीले शुक्रबार १६ औं अनसन तोड्नुभएको छ । केसीले २४ दिन अगाडि इलाममा अनसन शुरु गर्नुभएको थियो । स्वास्थ्य अवस्था विग्रिएपछि केसीलाई नाइटभिजन हेलिकप्टर मार्फत् काठमाण्डौ ल्यार्ईएको थियो ।

केसीले माथेमा कार्यदल र आवासीय चिकित्सकहरुको रोहवरमा १६ औं पटकको आमरण अनसन एकर्ती टुग्याउँने घोषणा गर्नुभएको हो । साथै डा.केसीले फरक ढंगले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस लिएर अनसन अन्त्य गर्नुभएको हो । अनसन तोड्न आग्रह गर्ने नागरिक अगुवा, माथेमा कार्यदल र आवासीय चिकित्सकहरुलाई केसीले धन्यवाद दिनुभयो । यसअघि माथेमा कार्यदलका सदस्यहरूले डा.केसीलाई भेटेर सत्याग्रहको २४ औं दिनमा पुग्दा केसीको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै सत्याग्रहको कार्यक्रमलाई पुनर्विचार गर्न आग्रह गरेका थिए ।

केसी अनसन बसिरहेकै बेला संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको थियो । विधेयक पारित गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनसँग मेल नखाने प्रावधान राखिएकोमा गम्भीर ध्यानाकर्षण भएको केसीले उल्लेख गर्नुभएको छ ।

डा. केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ । डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको टिप्पणी समेत गर्नुभएको छ । विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको जिकीर गर्नुभएको छ ।

Facebook Comments