जबर्जस्ती करणीका मुद्दामा वृद्धि: प्रहरी प्रधान कार्यालय
नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।
आव २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको जानकारी दिनुभयाे ।
कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरीका अनुसार आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको छ ।
विश्वास गरेका व्यक्ति, नाता र छरछिमेकै व्यक्तिहरूले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटनामा बृद्धि भएकाे हाे ।

