चितवनमा विषादी परीक्षण हुने
चितवनमा खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशाला सञ्चालन गरिने भएकाे छ ।
कृषि ज्ञान केन्द्र चितवनले किसानले उत्पादन गरेका वा आयात गरिएका तरकारी, फलफूल लगायत खाद्यवस्तुमा खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोशालाका लागि उपकरणहरू ल्याएको हो ।
प्रदेश नम्बर ३ को कृषि मन्त्रालयको सहयोगमा विषादी मापन प्रयोगशालाको उपकरणहरु ल्याईएको ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयाे ।
सरकारले तरकारी आउने नाकामा र संकलन हुने केन्द्रमा तरकारीको विषादी मापन गर्ने प्रयोगशाला प्रयोग गर्ने नीति ल्याएको छ । त्यस अनुरुप कृषि ज्ञान केन्द्रमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्ने गरी आवश्यक मापन उपकरण आएको हो ।
प्रदेश सरकारले ३५ लाखको लगानीमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोशाला चितवनमा ल्याइएको हो ।
प्रयोगशाला सञ्चालनको लागि प्रदेश सरकारले कृषि ज्ञान केन्द्रका तीन जना प्राविधिकलाई तालिम दिईरहेको छ । बाँकी दुई जना प्राविधिक प्रदेश मन्त्रालयले नियुक्ति गर्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ३ का प्रवक्ता निर्मल गदालले जानकारी दिनुभयाे ।
प्रयोगशाला सञ्चालनका लागि अहिले कृषि ज्ञान केन्द्र चितवनमा फर्निचरका कामहरु सुरु भइसकेको छ ।
माटो परीक्षण स्थानीय तहले गर्ने र विषादीको नियमन कृषिका कर्मचारीले गर्ने गरी कार्यायोजना बनाईएको गदालले जानकारी दिनुभयाे ।
यो उपकरणले खाद्यवस्तुमा भएको कार्वामेट र अग्र्यानोफोस्फेट नामक दुई समूहका विषादीको अवस्था पत्ता लगाउन सहयोग गर्ने बताइएकाे छ ।
जनस्वास्थ्यलाई ध्यानमा राखेर प्रदेश सरकारले छोटो बाटोबाट प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन लागेकाे जनाएकाे छ ।

