नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा उद्योग वाणिज्य संघवीच विवाद
पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशवीच विवाद उत्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघले आफ्नो भवनमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सचिवालय हटाउनका लागि पत्राचार गरेपछि विवाद उत्पन्न भएको हो ।
पोखरा उद्योग वाणिज्य संघको भवनमा रहेको नेपाल उद्योग वाणिज्य संघको सचिवालय हटाउन संघको वर्तमान कार्य समितिको बहुमतले निर्णय नै गरेर प्रदेश कार्यालयलाई गत पुष २९ गते पत्राचार गरेको थियो ।
पत्राचार गर्ने निर्णयमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे सहितका पदाधिकारी तथा सदस्यहरुले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेको श्रोतले जनाएको छ ।
सचिवालय हटाउन व्यहोरा उल्लेखित पत्रमा संघका महासचिव अर्जुन पोखरेलको हस्ताक्षर रहेको छ । पदाधिकारी बैठकले तय गरेको एजेण्डालाई संघको पूर्ण बैठकमा राखेपछि बहुमतले पारित गरेको श्रोतले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गत असोजमा सम्पन्न पोखरा उद्योग बाणिज्य संघको चुनावको प्रतिशोध स्वरुप नै सचिवालय हटाउन पत्राचार गरेको दाबी गर्नुभएको छ ।
पश्चिमाञ्चल उद्योग वाणिज्य संघको सचिवालय पोखरा उद्योग बाणिज्य संघ नै रहने प्रावधान रहेको र गत साउनदेखि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश बनेपछि पनि पूर्ववत रुपमा सचिवालय राखिएको कोइरालाको भनाई छ ।
विवाद बढेपछि सार्वजनिक कार्यक्रममा नै कोइरालाले सचिवालय हटाउने निर्णय गरेर संर्कीणता देखाएको आरोप लगाउनुभएको थियो । थोक व्यवसायी संघको कार्यक्रममा बोल्दै कोइरालाले निर्वाचनको बेलाको तिक्तता सम्झेर अहिले निर्वाचित व्यक्तिलाई महासचिव मान्दिन भन्न मिल्छ ? भन्दै प्रश्न गर्नुभएको थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको कार्यालय हटाउन गरिएको पत्राचारबारे आफूलाई थाहै नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले सो निर्णयमा आफूले नोट अफ डिसेन्ट लेखेको पनि जानकारी दिनुभयो ।
संघका महासचिव अर्जुन पोखरेलले सचिवालय हटाउने विषयलाई चुनावको प्रतिशोध नभई संघमा आर्थिक संकट बढेकाले कोठा भाडामा लगाउनका लागि सचिवालय हटाउन पत्राचार गरेको जिकीर गर्नुभयो ।

