उत्तर भारतका आगरा, लखनउमा चलिए पोखरा

पश्चिमाचल होटल संघ पोखराले पोखरा र गण्डकी प्रदेश सहित नेपाल प्रवद्र्धनका लागि भारतका विभिन्न शहरहरुमा यस बर्ष पनि चलिए पोखरा अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत असार १६ देखि होटल संघका प्रतिनिधिमण्डल भारतका विभिन्न स्थानमा गई प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ । संघले विगत बर्षहरुमा समेत हुने गरेको प्रवद्र्धनात्मक भ्रमण कार्यक्रमलाई निरन्तरता दिएको हो ।

असार २० गते सम्म संचालन हुने अभियानमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रतिनिधि, संचारकर्मी, पोखरा र सिमा क्षेत्रका तारे होटलदेखि मध्यम बर्ग र साना होटल तथा रिसोर्टका संचालक र प्रतिनिधि सहभागी रहेका छन् ।

अभियान अन्तर्गत पर्यटकीय शहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ र विहार राज्यको राजधानी पटनामा विविध कार्यक्रमहरु संचालन गरिने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

बोर्डर टाउन सेल्स् मिसन अन्तर्गत संचालन हुने यो अभियान अन्तर्गत पत्रकार सम्मेलन, भारत र नेपालका पर्यटन व्यवसायी विच द्विपक्षीय व्यापारिक भेटघाट (बीटुबी), पर्यटन सम्बन्धी श्रब्यदृष्य प्रदर्शन तथा प्रचार सामग्रीको वितरण लगायतका कार्यक्रम भइरहेको पनि तुलाचनले जानकारी दिनुभयो ।

सन् २०१२बाट शुरु भएको चलिए पोखरा अभिायनको यो आठौं संस्करण हो । नेपालको पर्यटनको सन्दर्भमा भारतबाट आउनेको संख्या अध्याधिक भएकाले पनि चलिए पोखरा सञ्चालनमा सहकार्य गरिएको नेपाल पर्यटन बोडृले जनाएको छ ।

पोखरा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी बर्षा यामका लागि विशेष प्याकेज, भारतमा गर्मी हुँदा पोखरा र आसपासका क्षेत्र गर्मी छल्ने उपयुक्त विकल्प हुन सक्ने भएकाले यसबारे जानकराी गराइने पनि संघका अध्यक्ष तुलाचनको भनाई छ ।

Facebook Comments