प्रधानमन्त्रीलाई आराम गर्न दिउँः सांसद थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरामको खाँचो रहेको बताउनुभएको छ ।

उहाँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रधानमन्त्रीको स्वास्थ्यका कारण आरामको खाँचो रहेको भन्दै सोतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

बुधबार संसदको विषय समयमा बोल्दै उहाँले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदलाई जानकारी गराउन माग गर्नुभयो ।

प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थापाले भन्नुभयो, ‘मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सक्रियता, इच्छाशक्ति र योगदान संसारका लागि नमूना बनोस् ।’

प्रधानमन्त्रीमा मुलुक बनाउने इच्छाशक्ति भएपनि उहाँको शारिरीक अवस्थाले गर्दा शासकीय जिम्मेवारी पुरा गर्नमा बाधा पुग्ने तर्फ ध्यान दिन जरुरी रहेको थापाको तर्क थियो ।

थापाले सत्तारुढ सुविधाजनक बहुमत रहेको नेकपासँग प्रधानमन्त्री भइसकेका र हुने इच्छा राख्ने व्यक्तिहरु धेरै नै रहेकाले प्रधानमन्त्री ओलीलाई किन विश्राम दिन नचाहेको भन्दै प्रश्न समेत गर्नुभयो ।

Facebook Comments