चीनसँग सहयाेग माग्न सूची छैन, मित्रता नै महत्वपूर्ण हाेः प्रम ओली

चिनियाँ राष्ट्रपतिसँग सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीयाँ राष्ट्रपति नेपाल भ्रमणमा आँउदा सहयाेग माग्न कुनै सूची नभएकाे बताउनुभएकाे छ ।

आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगकाे छलफलमा सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउनमा नै आफ्नाे प्रयास रहने बताउनुभयाे ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा क्रममा आपसी मित्रता नै महत्वपूर्ण हुने उहाँकाे भनाइ थियाे ।

‘उच्चस्तरीय भेटघाटमा लाभहानीको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ।’

प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिनुभयाे । उच्चस्तरीय भ्रमणाले दुई देशबीच मित्रता थप प्रगाढ बन्ने र लगानी, व्यापार र प्रविधिकाे क्षेत्रमा पनि कुरा हुनु स्वभाविक हुने उहाँकाे तर्क छ ।

महामहिम राष्ट्रपति सीको नेपाल भ्रमण एकदम सफल बनाउन सरकार तत्पर रहेकाे प्रधानमन्त्रीले उल्लेख गर्नुभयाे ।

चिनियाँ राष्ट्रपति सीले संभवत असाेजकाे अन्तिम सातामा नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ। नेपाल र चिनीयाँ दुवै पक्षले आधिकारीक रूपमा भ्रमण मिति सार्वजनिक गरेका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीवीच भएकाे सहमतिपछि नेपाल ‘सी विचारधारा’मा गयो भन्नु बुद्धिजीवी भइकन अबौद्धिक तर्क रहेकाे प्रधानमन्त्रीले टिप्पणी गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले नेपालले छिमेक सम्बन्ध  सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तरराष्ट्रिय सम्बन्ध पनि माथि उठेको उल्लेख गर्नुभयाे ।

Facebook Comments