सैनिक अदालतकाे फैसला प्रकरणमा सांसदकाे चासाे, आफूलाई हालेर देखाउन सांसद काेइरालाकाे चुनाैति
गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी माओवादी सेनामा प्रवेश गरेका शक्ति गुरुङलाई अहिले आएर सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेकोमा कडा आपत्ति प्रकट गर्नुभएकाे छ ।
गणतन्त्र ल्याउन भूमिका खेल्नेलाइ जेल हाल्ने याे स्वीकार्य नहुने सांसद काेइरालाकाे भनाइ रहेकाे छ । गण्डकी प्रदेशसभाको आइतबार विशेषा समय लिएर बाेल्दै काेइरालाले गुरूङलाइ गरिएकाे कारवाहीप्रति आपत्ति प्रकट गर्नुभयाे ।
प्रदेशसभामा शुन्य तथा विशेष समयमा सांसदहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद काेइरालले गणतन्त्र, परिर्वतन र नयाँ व्यवस्थाका लागि लडेका योद्धालाई जेल हाल्ने हो भने सबै नेता तथा माननीयहरु जेल जान तयार हुनुपर्ने हाे भन्दै प्रश्न समेत गर्नुभयाे ।
तत्कालीन शाही सेना र जनमुक्ति सेनाको समायोजनबाट नेपाली सेना गठन भएको उल्लेख गर्दै सांसद कोइरालाले सैनिक अदालतले गुरुङलाई १० वर्ष जेल हाल्ने सजाय ताेक्नु बृहत शान्ति सम्झाैता विपरीत हुने बताउनुभयाे ।
सांसद कोइरालाले आफूले पनि परिर्वतका लागि आवाज उठाउँदा शरिरमा गोली बोक्नु परेको भन्दै परिर्वतनका लागि लड्नेहरुलाई जेल हाल्ने हो भने आफूलाई पनि हालेर देखाउन चुनौती समेत दिनुभयाे ।
अर्का सांसद राजीव पहारीले जनयुद्ध र शान्तिपूर्ण आन्दोलनका माध्यमबाट अहिलेको उपलब्धि प्राप्त भएको बताउँदै परिर्वतित संरचनामा पनि नेपाली सेना परिर्वतन हुन नसकेको टिप्पणी गर्नुभयाे ।
शक्ति गुरुङलाई ससम्मान रिहा गर्न माग समेत सांसद पाहरीले गर्नुभयाे । साथै सांसद पहारीले छ महिनाभित्र फेवाताल वरपरका अनधिकृत संरचना हटाउने सन्दर्भमा सर्वोच्च अदालतको फैसलाको समयसीमा सकिएको र कार्यान्वयन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएपनि परिणाममूखी काम नभएकोमा चिन्ता व्यक्त गर्नुभयाे ।
सांसद पियारी थापाले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको तलव लगायत सेवा सुविधामा बृद्धि हुँदा जनता मुल्य बृद्धि र महङ्गीको मारमा परेको बताउँदै खाद्यपदार्थको अत्यधिक मुल्यबृद्धि रोक्न माग गर्नुभयाे ।
अर्का सांसद विष्णुप्रसाद लामिछानेले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ६ र ७ का बासिन्दा गाउँपालिकाको केन्द्र आउनपनि प्रदेश नं ५ भएर आउनुपर्ने बाध्यता रहेको बताउँदै स्थानीयलाई सहज हुने गरी सडक निर्माण गर्न माग गर्नुभयाे ।
गण्डकी विश्विविद्यालय सम्बन्धि विधेयक टेवल
आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने सम्वन्धी विद्येयक टेवल गर्नुभयाे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय आवश्यक देखिएकाले विश्वविद्यालय स्थापना सम्वन्धी विद्येयक सभामा छलफलका लागि चुमानले प्रस्तुत गर्नुभएकाे थियाे ।

