प्रधानमन्त्रीको उपचार निजी खर्चमा हुने
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको हो ।
यसैवीच प्रधानमन्त्रीले सिंगापुरमा हुने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने जनाइएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीसहित साथमा रहेको टोलीको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना सहभागी रहेका छन् ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण भइरहेको छ । एक हप्तासम्म अस्पतालमै रहेर आरामसहित स्वास्थ्योपचार गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (साउन २४ गते) स्वदेश फर्कने कार्यक्रम छ ।

