एकै स्थानमा लामो समय यात्रु कुर्ने गाडीलाई अब कार्वाही हुने

पोखरामा गुड्ने गाडीहरुले अब यात्रु कुरेर लामो समय बसेको पाइएमा कार्वाही गरिने भएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोकहरुका बस बिसौनीहरुमा लामो समय लगाएर यात्रु कुर्ने गाडीलाई कार्वाही गर्ने भएको हो । महानगरपालिकाको कार्यपालिका बैठकले मुख्य चोकहरुमा गाडी रोकेर यात्रु कुर्न नपाइने नियम बनाएको हो ।

पोखराका मुख्य चोक महेन्द्रपुल, विपीचोक, सभागृहचोक, पृथ्पीचोक, सिर्जनाचोक लगायतका ठाउँमा आवश्यकता भन्दा लामो समयसम्म यात्रु कुरेर बस्न नपाइने र बसेको पाइए कारबाही गर्ने गरी निगरानी थालिएको महानगरीय ट्राफिक व्यवस्थपान समितिले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले पोखराका मुख्य चोकहरुमा यात्रु ओराल्ने र चढाउने मात्रै गर्न पाइने बताउनुभयो । उहाँका अनुसार एकै स्थानमा लामो समयसम्म यात्रु कुरेर बसेको पाइएमा कार्वाही गरिनेछ ।

अव बाग्लुङबाट सिद्धार्थ राजमार्ग हुँदै आवतजावत गर्ने बसहरु सिर्जनाचोक, विरौटा हुँदै जानुपर्ने भएको छ । स्याङजा जाने बसहरु पनि पृथ्वीचोक नआई सिधै नागडुंगा हुँदै जानुपर्ने नियम बनाइएको मिश्रले जानकारी दिनुभयो ।

स्याङ्जा र बाग्लुङबाट आएका बस पृथ्वीचोक हुँदै आवतजावत नगर्ने वित्तिकै पृथ्वीचोकमा सवारीसाधनको चाप घटेर र ट्राफिक जाम कम हुने विश्वास गरिएको छ ।

Facebook Comments