तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै, पोखरामा ल्होछार महोत्सव
तामाङ समुदायले आज बिभिन्न कार्यक्रम गरी सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदैछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको एकजना अनुसन्धाता टीका शेर्पाले बताउनुभयो ।
मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछन् ।
पोखरामा ल्होछार महोत्सव जारी रहेको छ । पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा माघ १८ गतेदेखि शुरु भएको महोत्सव माघ २६ गतेसम्म चल्ने आयोजक नेपाल तामाङ घेदुङ नालामुख इकाई समिति कास्कीले जानकारी दिएको छ । महोत्सवको इन एसोसियसन विद नेपाल तामाङ घेदुङ, कास्की रहेको छ ।

महोत्सवमा घरायासी प्रयोजनका लागि आवस्यक सामाग्रीहरुका स्टल, बाल उद्यान तथा रमाईलो मेला, विभिन्न प्रकारका फुड स्टल, जनजाती म्युजियम, तामाङ संस्कृतिसंग सम्वन्धित स्टलहरुका साथै विभिन्न जनजातीहरुको भेषभुषा झल्कने सामाग्रीहरुको प्रदर्शन गरिएको छ ।
मेलामा लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, कमेडी नृत्य प्रतियोगिता, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य प्रतियोगितासंगै राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको लोकदोहोरी तथा पप आधुनिक कन्र्सट लगायतका कार्यक्रम समावेश गरिएको छ ।

