अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको वार्षिकोत्सव, गुणात्मक पर्यटन आवश्यकः मन्त्री अधिकारी
अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका वडा नं १७ रातोपैरोमा २०६० माघ २२ गतेदेखि सञ्चालनमा आएको संग्रहालयले हरेक वर्ष माघको २२ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।
कार्यक्रममा बोल्दै पर्र्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले गुणात्मक पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले उच्च तहको पर्यटकहरु देशमा भित्राउने पक्षमा आफूहरु लागिपरेको बताउनुभयो ।
पर्यटन प्रबद्र्धनका लागि हाम्रो गन्तव्य स्पष्ट रहेको मन्त्री अधिकारीको भनाई थियो । एअरलाइन्सबारे उठेको सवालबारे चर्चा गर्दै मन्त्री अधिकारीले वाइडबडी काण्ड छानबीनको क्रममा रहेको उल्लेख गर्नुभयो । नेपाल एअरलाइन्सलाई कमजोर पार्ने खेलहरु भएको मन्त्री अधिकारीको जिकीर रहेको थियो ।
कार्यक्रममा नेपाल–स्वीट्जरल्याण्ड दूतावासका काउन्सिलर एलिजाबेथ बन क्याट लकले बोल्दै प्राकृति सुन्दरताले भरिएको नेपालले भ्रमण वर्षका लागि गुणस्तरिय पर्यटक भित्राउन जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेस सभाका सभामुख नेत्रनाथ अधिकारी, टोनी हेगनकी छोरी क्याट्रिना हेगन र पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराई लगायतले नेपालको पर्र्यटकीय क्षेत्रको संभावनाबारे आ आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मन्त्री अधिकारीले अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराका प्रमुख बलप्रसाद राई र कर्मचारी सरस्वती सार्की नेपालीलाई दोसल्ला ओढाएर नगद र सम्मानपत्रद्धारा सम्मान गर्नुभयो ।
नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष सन्तबीर लामाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कुलबहादुर गुरुङले स्वागत एवं पर्वतीय संग्रहालयबारे प्रकाश पार्नुभएको थियो भने उपमहासचिव मिनबहादुर गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएके थियो ।
पर्वतीय संग्रहालयमा स्थापनादेखि हालसम्म २० लाखभन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्रमण गरेको संग्रहालयले जनाएको छ । संग्रहालय अवलोकन गर्न आउने पर्यटहरुबाट १७ करोड ८१ लाख ७० हजार बढि आम्दानी भएको छ ।

