नेविसंघले बुधबार पोखरामा सरकारी गाडी गुड्न नदिने

पक्राउ परेका आफ्ना संगठनका विद्यार्थीहरुको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले पोखरामा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा गरेको छ । बुधबार नै ८ देखि १० बजेसम्म जिल्लाभरीका क्याम्पस अगाडी चक्काजाम र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार बिहीबार पोखरा महागरपालिका शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने तथा शुक्रबार कालोपट्टी सहित प्लोकार्ड लिएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । आफ्ना माग सुनुवाई नभए शनिबारदेखि अनिश्चित कालका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने नेविसंघको विज्ञप्तीमा उल्लेख छ ।

मंगलबार नेविसंघका तीन केन्द्रीय सदस्यले संयुक्त विज्ञप्तीबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।सार्वजनिक विदाका दिन चलाईएको भन्दै गएको शनिबार नेविसंघले पोखरा महानगरको गाडी जलाएको थियो । त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । २ जना छुटेपनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।

Facebook Comments