विजया दशमीः दुर्गा भवानीकाे पुजा गरी मनाइँदै

 बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज आइतबार दुर्गा भवानीको पूजाआजा गरी मनाउने क्रम जारी रहेकाे छ । महाअष्टमीकाे दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने प्रचलन छ ।

दशैँघर, कोत लगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मगुरूहरू बताउँछन् । हिंसा विराेधीले भने बलीप्रथाकाे विराेध गर्दछन् ।

पशुबली नचढाउनेहरुले भने अष्टमीको दिन पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्दछन् ।

महाअष्टमीकाे दिन राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गर्ने प्रचलन रहेकाे छ ।

महाअष्टमीका अवसरमा काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा बलीसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।

देशका विभिन्न स्थानमा रहेका देवीहरूकाे मन्दिर काेतघरमा बली सहित पुजा गर्नेहरूकाे विहानैदेिख घुइँचाे लागेकाे छ ।

गाेरखाकाे मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, स्याङजाको स्वरेक महापुर भवानी थुममा पुजा गर्नेहरुको भिड लागेको थियो यस्तै आज राती स्याङजा भैरव कालिका मन्दिर स्वरेक कोटमा कालरात्री पुजा हुने गर्छ भने त्यहा राती ठुलो मेलानै लाग्ने गर्छ । अन्य शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेकाे छ ।

Facebook Comments