माटो र हावापानी सुहाउँदो कृषि प्रणाली आवश्यक : मन्त्री थापा
गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले माटो र हावापानी सुहाउँदो खेती प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५को समुद्घाटन गर्दै मन्त्री थापामगरले खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।
कृषि मार्फत नेपालमा आर्थिक क्रान्ति सम्भव भएको थापाले उल्लेख गर्नुभयो । उहाले हेमजामा आलु चिस्स उद्योग स्थापना गर्न सकिने बताउनुभयो । संघीय संसद सदस्य दुर्गा विकले आलु खेतीसँग हेमजावासीको पहिचान जोडिएको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका सांसद रामजी बरालले सुखी नेपाली बन्न कृषि उत्पादनसँग जोडिनुपर्ने भन्दै हेमजालाई नमुना सिटीका रुपमा विकास गर्ने खाँचो औँल्याउनुभयो । ।
प्रदेश सांसद बिन्दुकुमार थापाले कृषि पर्यटनको विकासमा जोड दिनुभयो । उहाँले गण्डकी प्रदेशले पर्यटन, उर्जा ,कृषि, उद्योग र पुर्वाधारको विकासबाट समृद्घि खोजिरहेको उल्लेख गर्नुभयो । सांसद प्रभा कोइरालाले हेमजालाई आलु क्षेत्र घोषणा गर्नुपर्ने भन्दै हेमजामा कोल्ड स्टोर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना, आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, क्लव अध्यक्ष कृष्णबहादुर खड्का लगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा कलाकार जीवन दाहाल, शंकरविरही गुरुङ, काजल गुरुङ लगायतकाे मनाेरञ्जनात्मक प्रस्तुति रहेकाे थियाे ।उद्घाटन कार्यक्रम सुरु हुनुपुर्व स्थानीय मिलनचोक देखि महोत्सव स्थलसम्म झाँकी र्याली निकालिएको थियो ।
कार्यक्रममा बीच राष्ट्रिय कृषकबाट बर्दियाका कमल गिरीलाई रु. २५ हजार, प्रदेश कृषकबाट तनहुँका चन्द्रकान्त डुम्रे र कास्कीका अनन्तराज जैसीलाई १५÷१५ हजार, स्थानीय कृषकबाट हेमजाका जीवन केसीलाई रु.१० हजार साथमा कृषि बैज्ञानिक डा.भीम खत्री जुम्लालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।
महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, र्टकीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।
मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लवका उपाध्यक्ष सुविन श्रेष्ठले स्वागत तथा संचालन मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले गर्नुभएकाे थियाे ।

