कैलालीबाट निर्वाचित रेशमलाल चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश
प्रतिनिधि सभा सदस्य पदको सपथ ग्रहण गर्नुभएका कैलाली–१ बाट निर्वाचित रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासमा मुद्दाको सुनवाइ गर्दै चौधरीको मुद्दामा कैलाली जिल्ला अदालतले गरेको आदेश सदर गरेको हो ।
टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीको मुद्दाको सुनवाइका क्रममा सर्वाेच्चले यस्तो निर्णय गरेको हो । चौधरीले सभामुख कृष्णबहादुर महराबाट पाँच दिन अघि सपथ ग्रहण गर्नुभएको थियो । अदालतले चौधरीको संलग्नता नरहेको प्रमाणले नदेखाएको भन्दै चौधरीलाई रिहा गर्न अस्वीकार गरेको हो । अदालतले घटनामा पक्राउ परेकाहरूको बयानमा टीकापुर घटना चौधरीकै निर्देशन अनुसार भएको उल्लेख गरेको छ ।
सर्वोच्चले रेशम चौधरीले आफू घटनाका समय घटनास्थलमा नरहेको भन्ने दाबीमा प्रमाण नपुग्ने देखिएको जनाएको छ । यसअघि उच्च अदालत दीपायलले चौधरीलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो ।
राष्ट्रिय जनता पार्टीकातर्फबाट भूमिगत अवस्थामै निर्वाचन लडेका चौधरी कैलाली क्षेत्र– १ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । चौधरीविरुद्ध कैलालीको टीकापुरमा ७ भदौ २०७२ को झडपमा एक बालकसहित ८ जनाको हत्या गरेको आरोप लागेको थियो ।

