पोखरामा डिजिटल कन्जुमर राइट्स सम्बन्धि छलफल

पोखरामा डिजिटल कन्जुमर राइट्स सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । लामाचौरस्थित गण्डकी इन्जिनियरिङ एण्ड साइन्स कलेजमा कार्यक्रम गरिएको हो । पछिल्लो समयमा अनलाइन मार्फत् विभिन्न सेवा उपभोग गर्ने प्रचलन बढिरहेको सन्दर्भमा यसैसँग सम्बन्धित उपभोक्ता अधिकारका बारेमा छलफल गरिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाण्डौ विश्वविद्यालयका प्रोफेसर डा.मनिष पोखरेलले उपभोक्ताले अधिकारसँगै आफ्नो जिम्मेबारी पनि पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशका केही मुलुकमा डिजिटल कन्जुमर राइट्स सम्बन्धमा ऐन नियम बनेपनि नेपालमा भने अहिलेसम्म यसबारे कुनै ऐन नबनेको उल्लेख गर्नुभयो ।

अन्य उपभोक्ताका जस्तै डिजिटल माध्यमबाट सेवा उपयोग गर्ने उपभोक्ताहरुलाई पनि समेटेर एने नियमको व्यवस्था गर्नेतर्फ सरकारलाई घच्घच्याउनुपर्ने उहाँको भनाई थियो । विकसित मुलुकमा सेवा प्रदायक संस्थाहरु उपभोक्ताको अधिकारप्रति सचेत हुने गरेको उद्दाहरण दिंदै प्रोफेसर पोखरेलले नेपालको सन्दर्भमा पनि सेवा प्रदायकलाई जिम्मेबार बनाउन उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

यसका साथै उपभोक्ताले अनलाईन मार्फत् सेवा उपभोग गर्दा सेवा प्रदायक संस्थाले जारी गरेका सेवा शर्तबारे राम्रो अध्ययन गरेर मात्र उपयोग गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले मुलुकमा डिजिटल उपभोक्ताका अधिकार सम्बन्धमा ऐन नियम तर्जुमा नभएकाले राज्यलाई सकारात्मक दवाव सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

गण्डकी कलेजका प्राचार्य रविप्रसाद बरालले उपभोक्ता अधिकारबारेको कार्यक्रम आजको सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा ९० जनाको सहभागिता रहेको थियो ।

Facebook Comments