योगदानको आधारमा कृषकलाई पेन्सन : मन्त्री थापामगर
गण्डकी प्रदेशका भुमि ब्यस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले कृषकलाई योगदानको आधारमा पेन्सन दिनुपर्ने बताउनुभएको छ । आज कास्कीको लुम्लेमा राष्ट्रिय किसान आयोगले आयोजना गरेको किसानसंगको छलफल तथा अन्तरक्रियामा मन्त्री थापा मगरले यस्तो बताउनुभएको हो ।
उहाँले किसान आयोग मार्फत् संघिय मन्त्रीपरिषदमा किसान पेन्सन योजना पेश भएको भन्दै कृषिमा पछिल्लो पुस्तालाई आर्कषण गर्नपनि किसानलाई पेन्सन दिनुपर्ने बताउनुभयो । मन्त्रीले गण्डकी प्रदेशमा रहेको सवै सहकारीले ऋण लगानीको ३० प्रतिशत लगानी उत्पादन मुलक क्षेत्रमा अनिर्बाय लगाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले उत्पादनका क्षेत्रमा नगर्ने सहकारी कार्वाहीमा पर्नेपनि मन्त्रीले बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्य एवं प्रवक्ता रविन्द्र केसीले आयोगले गरेका कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले किसानको समस्या नजिकबाट बुझ्ने काम गरेको र सुधारको लागि सरकारलाई जानकारी गराएको बताउनुभयो ।
आयोगले किसानको हक हित अधिकार एवंम किसानहरुको राज्यप्रतिको दायित्व पुरा गर्न नेपाल सकारलाई सहयोग गर्दै आएको बताउनुभयो । अहिले किसान वर्गीकरण गर्ने काम भइरहेको पनि उहाँको भनाई छ । आयोगको कार्यपत्र, गण्डकी प्रदेशको भुमिब्यबस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि अनुसन्धान केन्द्र लुम्लेका तर्फबाट कार्यपत्र पेश गरिएको थियो ।

आयोगका सदस्य एवं कार्यक्रमका अध्यक्ष भानुभक्त सिग्देलले प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार र अनुसन्धान विकास तथा किसानका समस्या सम्बन्धमा किसानहरु, कृषि विज्ञ र किसान आयोगका सदस्यहरुवीच छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । शुक्रबारसम्म चल्ने कार्यक्रममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका अगुवा किसानहरुको सहभागीता रहेको छ ।

