चितवनमा टेष्टट्युब बेबी सेन्टर स्थापना
चितवनमा टेष्ट ट्युव बेबी सेन्टर सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले अस्पताल परिसरमा नै बेबी सेन्टर सञ्चालनमा ल्याएको हो । सेन्टर समुद्घाटन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी र निजी अस्पताल दुवैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
साथै उहाँले निजी सरकारी दुवैले सहकार्यका साथ गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभयो । सरकारले मात्र स्वास्थ्य सेवाको पहुंँच पु¥याउन कठिन हुने भएकाले सेवाको भावसहित निजी क्षेत्रले पनि काम गर्नुपर्ने उहाँको भनाइ थियो । निजी क्षेत्रले पनि सेवाभावलाई मुख्य प्राथमिकतका साथ सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताउनुभयो ।
उपप्रधान एवं स्वास्थय मन्त्री यादवले पछिल्लो समय क्यान्सर, मुटु, मिर्गौला, मधुमेहलगायत रोग बढ्दै गएकाले खाद्यान्नमा भएको बिषादी र प्रदुषण न्यूनीकरणतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले अस्पतालमा सञ्चालनमा आएको सेन्टरमा अत्याधुनिक प्रजनन संरक्षण सेवा प्रणाली रहेको छ ।
अव निःसन्तान दम्पत्तिले विदेशमा गई उपचार गर्न नपर्ने उहाँको भनाई थियो । सेवामा भ्रुण बैंकिङ, शुक्रकीट र डिम्ब मिलन हुन नसकेमा डिम्बभित्र शुक्रकीट राख्ने अत्याधुनिक उपकरणसमेत समावेश रहेको अस्पतालले जनाएको छ ।
अवैध शुल्क लिने कलेजलाई कारवाही
यसैवीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विद्यार्थीबाट अवैध शुल्क लिने मेडिकल कलेजलाई कार्वाही हुने बताउनुभएको छ । उहाँले चितवन मेडिकल कलेज लगाएतका अवैध शुल्क लिने सबै मेडिकल कलेजहरुलाई कारवाही हुने बताउनुभएको हो ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले तोकेको शुल्क भन्दा बढि लिने र दिने दुवै दोषी भएको टिप्पणी गर्नुभयो । तोकिएको मापदण्ड अनुसार मेडिकल कलेज सञ्चालन हुनुपर्ने उहाँको भनाई थियो ।
फरक प्रसंगमा मन्त्री यादवले विभिन्न बाहानामा चिकित्सकले विरामीलाई दुःख दिन नहुने बताउनुभयो । स्वास्थ्य सेवा जस्तो अत्यावश्यक र मानवीय सेवामा चिकित्सकको आन्दोलनको औचित्य नरहेको उहाँको तर्क थियो । साथै उहाँले चिकित्सकका माग सरकारले सम्बोधन गरिसकेको बताउनुभयो ।

