जातिको नाममा हुने विभेद अन्त्य हुनुपर्छः प्रदेश प्रमुख कुँवर
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
क्षत्री समाज नेपाल गण्डकी प्रदेशले विश्व आदिवासी दिवसको सन्दर्भमा भएको कार्यक्रममा प्रमुख कुँवरले सो धारणा सहित संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको, सबै नेपाली बराबर रहेको र क्षत्री जाति आफैमा पहिचान भएको बताउनुभयो ।
कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापाले खस क्षत्री आदिवासी जाति विषय कार्यपत्र पेश गरेका थिए । सो माथि समाजका सल्लाहकार प्रा.डा.ज्ञान बहादुर कार्कीले टिप्पणी सहित कार्यपत्र मार्फत आएका बुँदा र विगतका माग मुद्दालाई समाजले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य बहादुर केसीले केही टाठाबाठाका क्षणिक स्वार्थले देश पछि परेको बताउनुभयो । गण्डकी प्रदेश सदस्य कृष्ण थापाले समाजले सधै जातिय सद्भाव पूर्ण कार्य गरेको बताउनुभयो ।
समाजका महासचिव केश बहादुर केसीले देशको सम्पूर्ण परिवर्तनमा समाजले खेलेको भूमिका र अधिकारका लागि देशव्यापी कार्यक्रमहरु गरिने जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका अध्यक्ष बेनी बहादुर बस्नेत, केन्द्रीय पूर्व अध्यक्ष प्रा.डा.चन्द्र बहादुर थापा, प्रदेशका बरिष्ठ उपाध्यक्ष इन्द्रमान खत्री, सचिव लक्ष्मी अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
दिवसकै अवसरमा क्षत्री समाज कास्कीद्वारा नौडाडा महेन्द्र आधरभूत विद्यालयका विद्यार्थीहरुका लागि स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।
जिल्ला अध्यक्ष पदम बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिल बहादुर अधिकारी, सचिव भरत थापा, इन्द्र थापा, राजेन्द्र खत्री, शेरजंग अधिकारी र प्रधानाध्यापक ढाकाराम सुवेदीले आ–आफ्नो धारणा राखेका थिए ।

