आईसीसीद्वारा २ बर्षदेखि रोकिएको नेपाली क्रिकेट खेलाडीको तलव प्रदान
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दुई वर्षदेखि रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब एकमुष्ठ पठाएको छ । राष्ट्रिय खेलकुद परिषदको खातामा आईसिसीले रकम पठाएको हो । आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले राष्ट्रिय खेलकुद परिषदको खातामा पठाएको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले क्रिकेट खेलाडीसँग श्रेणीगत आधारमा सम्झौता गर्दै आईसीसीलाई नाम पठाएको र त्यहि अनुसार तलब पठाएको बताउनुभयो ।
सम्झौता अनुसार ए श्रेणीको खेलाडीले ३५ हजार, बी श्रेणीको खेलाडीले २५ हजार र सी श्रेणीको खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सम्झौता अनुसार आईसीसीले दुई बर्षबाट रोकिएको १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ खेलाडीको तलब राखेपलाई पठाएको छ । खेलाडीको रोकिएको तलब उपलब्ध गराउन राखेपले आईसीसीसंग विशेष पहल गर्दै आएको थियो ।

