पोखराका भट्टराईले थाइल्याण्डमा हुने आइटीएफ सिनियर टेनिस प्रतियोगितामामा भाग लिने

पोखराका गोपीबहादुर भट्टराई आइटीएफ सिनियर टेनिस प्रतियोगितामा भाग लिन थाइल्याण्ड पुगेका छन् । शनिबारदेखि बैंकक्स्थित अल लन टेनिस एकेडेमीमा प्रतियोगिता शुरु भएको छ । शुक्रबारमात्र थाइल्याण्ड पुगेका भट्टराईले त्यहाँ अभ्यास खेल पनि खेलेको बताएका छन् ।

स्पोर्टस् सनराइज, जापानको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीहरुले विभिन्न उमेर समुहमा स्पर्धा गर्नेछन् । भट्टराईले ३५ वर्ष माथिको एकलमा प्रतिस्पर्धा गर्ने बताइएको छ । उनी भएको समुहमा चेक रिपब्लीक, जापान, फ्रान्स, बंगलादेश र भारतका खेलाडीहरु रहेका छन् । भट्टराई प्रतिस्पर्धाका लागि सोमबार कोर्टमा उत्रने छन् ।

स्पोर्ट सनराइजका अध्यक्ष समे रहेका प्रतियोगिता संयोजक कोजी ताकेचीका अनुसार यो प्रतियोगिताको आगामी श्रृंखला जापानमा आयोजना हुनेछ । कोजीसंगको भेटमा भट्टराईले पोखराको टेनिस गतिविधी र यहाँ सञ्चालन भइरहेको आइटीएफ यु–१८ टेनिसका बारेमा जानकारी गराएका छन् । भेटमा आगामी प्रतियोगिताहरुमा जापानबाट ११, १३ र १५ वर्ष मुनिका खेलाडी सहभागि गराउन पहल गर्ने कोजीले बताएका थिए ।

Facebook Comments